npl.977 Nepal News Stream

#बेलायत प्रमुख

Contents
Nepali Link

युक्रेनलाई सहयोग घोषणापछि बेलायतमा आक्रमण गर्ने रुसको धम्की

Nabin Pokharel 13 hours ago

बर्लिनमा १५ अप्रिलमा आयोजित युक्रेन सम्मेलनमा नेटो प्रमुख मार्क रुट, युक्रेनका मिखाइलो फेडोरोभ, जर्मनीका बोरिस पिस्टोरियस र बेलायतका रक्षा मन्त्री जोन हेली । फोटो- एपी

बेलायत, वैशाख ३ गते । बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ । जसमा कम्तिमा एक लाख २० हजार ड्रोनसहित, आर्थिक विकासलाई बढावा दिने र बेलायतभित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

घोषणा बेलायतका रक्षामन्त्री जोन हेलीको युक्रेन रक्षा सम्पर्क समूहको ३४ औँ बैठकको लागि बर्लिन गएको अवसरमा भएको हो । जसमा जर्मन रक्षा मन्त्री बोरिस पिस्टोरियस, युक्रेनी रक्षा मन्त्री मिखाइलो फेडोरोभ र नेटो महासचिव मार्क रुटसँगै ५० वटा देश समावेश छन् ।

प्याकेजमा लामो दूरीको ड्रोन, टोही र खुफिया ड्रोन, र रसद समर्थन ड्रोन समावेश रहेको जनाइएको छ भने ड्रोन पठाउने अभियान सुरु भइसकेको जनाइएको छ । ड्रोनले युक्रेनको प्रतिआक्रमण अपरेशनमा साथै चलिरहेको रूसी आक्रमणविरुद्ध रक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

बेलायती कम्पनीको समर्थनमा गरिएको यो सहयोगमा लगानीको अधिकांश भाग बेलायतमा आधारित फर्मद्वारा निर्देशित हुने र युक्रेनको सुरक्षा र सार्वभौमिकतालाई सुदृढ पार्दै रोजगारी सिर्जनामा योगदान पुग्ने आशा गरिएको छ । यो सहयोगमा बेलायतले युक्रेनलाई प्रदान गरेको सबै भन्दा ठूलो सहयोग भएको उल्लेख गदै रक्षामन्त्रीले सयौँ हजार तोप र हजारौँ हवाई रक्षा मिसाइलको प्रावधानको पुष्टि गरेका छन् ।

सहयोग बेलायत र युक्रेनबिच गत महिना भएको नयाँ रक्षा साझेदारी सम्झौतापछि आएको हो, जसको उद्देश्य ड्रोन जस्ता कम लागत, उच्च दक्षता सैन्य प्रविधिको प्रसारको प्रतिक्रियामा विश्वव्यापी रक्षा क्षमता सुदृढ पार्नु हो ।

बेलायतमा आक्रमण गर्ने रुसको धम्की

उता, रुसले बेलायतका चार क्षेत्रमा बम विस्फोट गर्ने धम्की दिएको बेलायती अखबारहरुले उल्लेख गरेका छन् । रुसले युक्रेनका लागि ड्रोनहरू उत्पादन भइरहेका बेलायती शहरमा आक्रमणको चेतावनी दिएको हो ।

क्रेमलिनले लन्डन, लेस्टर, रिडिङ र सफोकमा युक्रेनका लागि ड्रोन र उपकरणहरू उत्पादन भइरहेको दाबी गर्दै ति ठाउंमा आक्रमणको चेतावनी दिएको छ ।

बेलायतमा ‘टार्गेट’ गरिएको एक शहर सफोकको मिल्डेनहलमा रोयल एयर फोर्स (आरएएफ) बेस अवस्थित छ ।

रुसी रक्षा मन्त्रालयले युरोपेली नेताहरूले युक्रेनी ड्रोनको उत्पादन बढाउने कथित कदमले महादेशमा ‘सैन्य–राजनीतिक अवस्था’ लाई बढाइरहेको जिकिर गरेको छ ।

रुसी आक्रमणको लिष्टमा युरोपभरि अन्य धेरै स्थान पनि सूचीबद्ध छन्।

Nepali Link

लन्डनमा एउटै स्टेजमा भिटेन र साकार

Nabin Pokharel 14 hours ago

लन्डन । लन्डनले यसपालीको नयां वर्षमा नेपालबाट नाम चलेका खासै कलाकार स्वागत गरेन । नेपाली डायष्पोरा विगत जस्तो शुभकामना कार्यक्रममा झुम्न पनि पाएन । तर, उत्तरी लन्डनको डाल्स्टन ह्याकनीमा अवस्थित अर्थ रिभोलुसरी ह्याक्नी हल भने बेजोड नेपाली र्‍याप गीतले गुन्जियो ।

विश्वभरका अग्रणी र उदीयमान कलाकारहरूलाई स्वागत गरिसकेको उक्त अत्याधुनिक भेन्यूले नेपाली हिप–हपका सेलिब्रेटी र्‍यापरद्धय समीर घिसिङ (भिटेन) र साकार उर्फ लिल बुद्धलाई एउटै स्टेजमा उतारयो ।

मिलानोयर इभेन्ट्स लि. ले करिब तीन महिनाको गृहकार्यपछि आफ्नो पहिलो कार्यक्रममै डाकेको थियो भिटेन र साकारलाई ।

नेपाली नयां वर्षलाई स्वागत गर्न आयोजित ‘नेपहप नाइट २०८३’ कन्सर्टमा एकहजार बढी तन्नेरी सहभागी भए ।

प्राय नेपाली लोकभाका र पञ्चेबाजामा झुम्न लालयित हुने यहांको नेपाली डायष्पोरा हिप हप संगीतमा यति विघ्न आकर्षित भएको सम्भवतः पहिलो हो ।

कार्यक्रम साँझ ७ बजेदेखि मध्यरात १२ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रमको सुरुवात TRY-GAR र BOKA-G ले ओपनिङ प्रस्तुति दिएर गरेका थिए । सुरुदेखि अन्त्यसम्म नै कार्यक्रमको माहोल उत्साहपूर्ण र रमाइलो बनेको थियो ।

भिटेनले ‘सिम्सिमे पानी’, ‘ड्रग एडिक्ट’, ‘हालखबर’, ‘हामी यस्तै त हो नि ब्रो’, ‘चुरोट’ लगायत आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए भने साकारले ‘नो पिस इन लभ’, ‘सुरु गरौं कब्जा अनि आउँछ मजा’ सहित विभिन्न हिट गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाए । साकारलाई डिजे इभिलाइभले साथ दिएका थिए ।

त्यस्तै, भिटेन र साकारले संयुक्त रूपमा प्रस्तुत गरेको ‘ल ल ल..’ गीतमा दर्शक झन् उत्साहित बने । कार्यक्रममा स्थानीय समूह ‘अफलाइन’ र ‘पानी पुरी’ ले पनि प्रस्तुति दिँदै माहोल तताए ।

बेलायतमा नेपाली संगीत र चलचित्र प्रवर्द्धक कम्पनी ‘९७७ इभेन्ट कम्पनी’ का डाइरेक्टर वीरेन्द्र नेपाल कन्सर्टमा उपस्थित थिए । पहिलोपटक लन्डनमा हिपहप संगीतमा दर्शक सहभागिता उल्लेख्य पाएको उनले अनुभूति गरे ।

उनले पछिल्लो समय नेपाली युवाको संगीत चाहना परिवर्तन हुंदै गएको समेत बताए । ‘हिपहप गीत संगीतलाई कुनै बेला तिरस्कार गरिन्थ्यो तर अहिले त्यही विधाप्रति मानिस आकर्षित छन्’, नेपालले भने ।

‘दर्शकको रुचि र समय अनुसार, यदि तपाईंले गुणस्तरीय कार्यक्रम आयोजना गर्नुभयो भने मानिसहरू आउनेछन् जुन यसले प्रमाणित गर्छ’, उनी भन्छन्।

त्यसो त र्‍याप गीतबाटै मेयर हुंदै केन्द्रिय राजनीतिमा होमिएका बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि अहिले नेपाली र्‍याप संगीतले धेरै फड्को मारेको विश्वास गरिन्छ ।

‘कार्यक्रम निकै सफल भएकामा हामी उत्साहित र कृतज्ञ छौं’, आयोजक मिलानोयर इभेन्ट्स लिमिटेडकी निर्देशक लुबिका रिमालले भनिन्, ‘हामीले हिप हप संगीतप्रति बेलायतका नेपाली युवाको आकर्षण बढेको देखेर दंग पर्यौं ।’

आयोजकले यस कार्यक्रमलाई नेपाली संगीत र सांस्कृतिक उत्सवसँगै नयाँ वर्ष स्वागत गर्ने विशेष अवसरका रूपमा चित्रण गरेको छ । उच्च डिमाण्ड भएका सेलिब्रेटी कलाकारलाई आमन्त्रण, महंगो भेन्यू र मानिसमा घट्दो क्रयशक्तिका कारण कार्यक्रम आफैंमा चुनौतिपूर्ण रहेको आयोजकको भनाइ छ ।

कार्यक्रम सिड्नी गुरुङले सञ्चालन गरेकी थिइन् ।

३० लाख सब्सक्राइबर पुगेकामा लन्डन ब्रीज अगाडि सेलेब्रेसन

यसैबीच, भिटेनका युट्यूबमा ३० लाख सब्सक्राइबर पुगेकामा लन्डन ब्रीज अगाडि सेलेब्रेसन गरिएको छ । मिलानोयर इभेन्ट्स लि. ले स्याम्पेनसहित केप काटेर खुशीयाली साट्ने अवसर जुराएको हो ।

युट्यूबमा ३० लाख ग्राहक पुग्ने भिटेन नेपालका पहिलो गायक हुन् । भिटेनले माया गर्ने आफ्ना दर्शकश्रोताप्रति आभार व्यक्त गरेका छन् ।

गत ११ अप्रिलमा लन्डन उत्रिएका भिटेन यूके घुमफिरपछि २० अप्रिल नेपाल फर्कंदैछन् भने १० तारिख लन्डन आइपुगेका साकार १७ अप्रिल फर्कने कार्यक्रम छ ।

Explore by Source or Category