npl.977 Nepal News Stream

#बेलायत प्रमुख

Contents
Nepali Link

बुद्धिष्ट गुम्बा रेडिङमा पहिलोपटक स्थानीय मेयर र काउन्सिलरहरुको स्वागत

Dhruba Aryal 11 minutes ago

लन्डन- बेलायतको रेडिङमा स्थानीय नेपालीहरुद्वारा स्थापित बुद्धिष्ट गुम्बामा पहिलोपटक स्थानीय बरोका मेयर तथा काउन्सिलरहरुले भ्रमण गरेका छन्।

स्थानीय वर्किङह्याम बरो काउन्सिलका मेयर काउन्सिलर लुईस टिम्लिन, उपमेयर काउन्सिलर एल्विन जोन्ससहित आधा दर्जन बढी काउन्सिलहरुले शनिबार गुम्बा भ्रमण गरेका हुन्।

सन् २०१८ मा स्थापित गुम्बामा पहिलोपटक आइपुगेका स्थानीय सरकारका प्रतिनिधिहरुलाई गुम्बाका अध्यक्ष पूर्व इन्स्पेक्टर खेमबहादुर गुरुङ, महासचिव कमल कोने गुरुङ, कोषाध्यक्ष मेजर रिटायर्ड बुद्धि गुरुङलगायतले स्वागत गरेका थिए।

गुम्बा भ्रमणमा वर्किङह्याम बरो काउन्सिलका मेयर र उपमेयरसंगै काउन्सिलरहरू माइक स्मिथ, स्टेफेन न्युनटन, एन्डी एनजी सिउ–मङ, क्यानेडिन स्मिथ तथा चेतना जान्टे लगायतको सहभागिता थियो।

त्यस अवसरमा काउन्सिल प्रतिनिधिहरूलाई बुद्धिष्ट गुम्बाको संरचना, उद्देश्य तथा समुदायसँगको सहकार्यबारे विस्तृत जानकारी गराइएको थियो।

गुम्बाका कोषाध्यक्ष रिटायर्ड मेजर बुद्धि गुरुङले गुम्बाको परिकल्पना, हालको सदस्य संख्या, भविष्यका योजना तथा सञ्चालन हुँदै आएका विविध धार्मिक तथा सामाजिक कार्यक्रमहरूको बारेमा जानकारी गराए। साथै, गुम्बाले समुदायमा खेलेको भूमिका र आगामी दिनमा विस्तार गर्न खोजिएको गतिविधिबारे समेत उनले प्रकाश पारे।

गुम्बाका अध्यक्ष पूर्व इन्सपेक्टर खेमबहादुर गुरुङले बुद्ध धर्मको मूल दर्शन, शान्ति, करुणा र मानव कल्याणमा आधारित शिक्षाको महत्वबारे काउन्सिल प्रतिनिधिहरूलाई अवगत गराए। उनले बुद्ध धर्मले बहुसांस्कृतिक समाजमा सहिष्णुता र सद्भाव प्रवर्द्धन गर्ने सन्देश दिने बताए।

कार्यक्रममा पूजा प्रमुख लामा गुरु हर्कजंग घले तथा लामा गुरु प्रदीप गुरुले पूजापाठका साथै बुद्ध धर्म, ध्यान अभ्यास र धार्मिक संस्कारसम्बन्धी जानकारी प्रदान गरेका थिए। उनीहरूले गुम्बा धार्मिक आस्थाका साथै सामाजिक सद्भावको केन्द्रका रूपमा विकसित हुँदै गएको उल्लेख गरे।

गुम्बाका महासचिव कमल कोने गुरुङले बुद्धिष्ट गुम्बाले हालसम्म सञ्चालन गरेका विभिन्न परोपकारी (च्यारिटी) गतिविधिहरूका साथै बेलायतका विभिन्न विद्यालयहरूमा गुम्बाका लामा गुरूहरूद्वारा बुद्ध धर्मसम्बन्धी ज्ञान, नैतिक शिक्षा र शान्तिको सन्देश प्रदान गरिएको विषयमा जानकारी दिए।

सो अवसरमा मेयर तथा काउन्सिलरहरुले स्थानीय समुदायमा गुम्बाले निर्वाह गर्दै आएको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेका थिए। उनीहरुले आगामी दिनमा स्थानीय बरोका तर्फबाट गुम्बासंग सहकार्य र सहयोगको प्रतिवद्धता पनि जनाएका थिए।

 

 

Nepali Link

सहारा यूकेमा नयां नेतृत्व चयन, शारदा गुरुङलाई अध्यक्षको जिम्मेवारी

Nabin Pokharel 20 hours ago

लन्डन । सहारा यूकेमा नयां नेतृत्व चयन भएको छ । २० डिसेम्बर शनिबार अल्डरसटस्थित माइतीघरमा सम्पन्न वार्षिक साधारणसभाले शारदा गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिति चयन गरेको हो ।

त्यसैगरि, उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दिपक गुरुङ (राजु) कोषाध्यक्षमा जगन गुरुङ, सहकोषाध्यक्षमा कुमार थापा र सहारा यूकेको सिइओमा दल गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरि, स्पोर्टस् सेक्रेटरीमा शम्शेर गुरुङ र युथ कोअर्डिनेटरमा अजयजंग थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा रमेश गुरुङ, सविन्द्र कुमार गुरुङ (एसके), गम गुरुङ, गंगा गुरुङ, देव गुरुङ, लाल गुरुङ, नारायण गुरुङ, ओम गुरुङ, मिलन तमु र मनोज गुरुङ चुनिएका छन् ।

निर्वाचन समितिले नयां कार्यसमितिलाई शपथ ग्रहण गराएको थियो । निर्वाचन समितिमा संस्थापक सल्लाहकार महेश गुरुङ प्रमुख आयुक्त एवं सल्लाहकार ज्ञाम गुरुङ र एकेन्द्र गुरुङ आयुक्तको जिम्मेवारीमा थिए ।

नवनिर्वाचित अध्यक्ष शारदा गुरुङले सहारा यूकेलाई आफ्नो उद्देश्य अनुरुप अगाडि बढाउन कुनै कसरत बांकी नराखी काम गर्ने प्रविद्धता व्यक्त गरे ।

यसअघि अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा महासचिव क्याप्टेन पिताम्बर गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार थापाले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्रमा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्षहरु दिलिप गुरुङ, मीन बहादुर गुरुङ (साइला), कुमार गुरुङ र लेप्टेन कुसाङ गुरुङले शुभकामना एवं सुझाव दिएका थिए ।

सहकोषाध्यक्ष जगन गुरुङले सहारा यूकेको अक्षय कोषबारे अपडेट गराएका थिए ।

सन् २००८ मा स्थापित च्यारिटी संस्था सहारा यूकेले महाभूकम्पबाट क्षतिग्रस्त स्कुल पुनर्निर्माण, आहा रारा गोल्डकपमा आर्थिक सहयोगदेखि हाल पोखरा, दोबिल्लामा अवस्थित सहारा पोखरा एकेडेमीमा ३० जना असहाय बालबालिकालाई आश्रय, पठनपाठन तथा फुटबल प्रशिक्षण दिइरहेको छ ।

Explore by Source or Category