बन्डी आक्रमणपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए सुरक्षा व्यवस्थाको समीक्षा गर्न आदेश
काठमाडौँ- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले गत सात बन्डी बीचमा भएको आक्रमणपछि प्रहरी र देशका गुप्तचर निकायको समीक्षा गरिने बताएका छन्।
आईएसआईएसबाट प्रेरित आक्रमणका कारण सुरक्षा निकायको समीक्षा गरिने उनले बताएका हुन्।
‘गत आइतबार आईएसआईएसबाट प्रेरित आतंकवादी आक्रमणले हाम्रो देशमा तीव्र रूपमा परिवर्तन भइरहेको सुरक्षास्थितिलाई उजागर गरेको छ,’ उनले भनेका छन्।
अल्बनिजले इस्लामिक स्टेट समूहका लागि आईएसआई शब्द प्रयोग गर्दै आफूहरूको सुरक्षा निकाय दुरुस्त राख्नुपर्ने उल्लेख गरे।
उनले भने,‘हाम्रा सुरक्षा निकायहरू कुनै पनि घटनाको सामना गर्न सबैभन्दा उत्तम स्थितिमा हुनुपर्छ।’
सिडनीको बन्डी बीचमा यहुदी समुदायले पर्व मनाइरहेका बेला बन्दुकधारीले चलाएको गोली लागेर १५ जनाको मृत्यु भएको थियो। घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली दिन आइतबार शोक मनाइँदैछ।
कडा सुरक्षा व्यवस्थाकाबीच साँझ ६ बजेर ४७ मिनेटमा घटनास्थलमै एक मिनेटका लागि मौन धारण गरियो। एक साताअघि यही समयमा गोलीबारी सुरू भएको थियो।
अस्ट्रेलियामा झन्डै तीन दशकपछि यस्तो प्रकृतिको घटना भएको हो। यो घटनापछि सरकारले बन्दुक राख्नेसम्बन्धी नियमहरूलाई थप कडा बनाउने योजना बनाइरहेको बताइएको छ।