npl.977 Nepal News Stream

#बजार

Contents
Kendrabindu logo Kendrabindu

विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी बुर्तिबाङका खनाल

इन्द्र कमल रोक्का 7 hours ago

गण्डकी। रोजगारीका क्रममा विदेशका धेरै सङ्घर्षपूर्ण भोगाइ र अनुभव सँगालेका बाग्लुङको ढोरपाटन नगरपालिका बुर्तिबाङका कृष्ण खनालको सङ्घर्ष र सफलताका कथा यतिखेर अरुका लागि पनि अनुकरणीय बनेको छ ।

खनाल आफ्नो निरन्तरको सङ्घर्षले अहिले आफू स्वरोजगार छन् र अन्य धेरै जनालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी दिँदै आएका छन् । । श्रीमती विष्णुसहित छोराछोरीको साथ र सहयोगसँगै आफ्नो निरन्तरको सङ्र्घषकै कारण उनले बुर्तिबाङमा वर्तमानमा एकसाथ टाइगर होटेल रेष्टुरेन्ट एण्ड लज, ढोरपाटन क्याटरिङ तथा टेन्ट हाउस, कृष्ण डेरी उद्योग, मिष्ठान्न भण्डार एण्ड बेकरी उद्योग सञ्चालन गरिहेका छन् ।

यी सबै व्यवसायमा प्रत्यक्ष रुपमा २० जनाले र व्यवसायलाई आवश्यक पर्ने दूध, मासु आदिका कारण अप्रत्यक्ष रुपमा ५० जनाले रोजगारी पाइरहेका उनले बताए । पैँतालिस वर्षीय खनालसँग रोजगारीको खोजीमा भौतारिरहेका र भोगेका धेरै अनुभव छन् । आमा बुबाको एक्लो छोरा उहाँ बाल्यकालमा नै टुुहुरो बनेका थिए ।

जन्मेको एक वर्षमा बुबा र दुई वर्षमा आमा गुमाएका उनलाई हजुरबुबा र हजुरआमाले नै दुुःख कष्ट गरी पालेका थिए । बिहे पछि दुई छोरी जन्मिसकेपछि भएको श्रीमतीको निधन धेरै पीडाकाबीच पनि आफूलाई सम्हाल्दै सङ्घर्ष गर्दा वर्तमानमा यी सफलता हासिल भएको उनले बताए । पहिलो श्रीमतीको निधनपछि दोस्रो विवाह गरेका उहाँका पहिलो श्रीमतीबाट दुई छोरी र पछिल्लो श्रमितीबाट दुई छोरा रहेका छन् । छोराछोरीले आफ्नो नियमित अध्ययन सकी सेवा, पेसा र व्यवसाय सम्हाल्नसक्ने भइसकेको उनले बताए ।

विदेशमा रोजगारीका क्रममा पाएका हण्डर तथा ठक्करले पनि स्वदेशमा नै केही व्यवसाय गर्नुपर्छ भन्ने उनमा सोच आएको थियो । विसं २०५७ मा चैतमा रोजगारीकै क्रममा दुबई गएका खनाल तीन वर्ष त्यहाँ रोजगारी गरी फकिए । त्यसपछि केही समय भैँसीपालन र खेती किसानी गरेका उनलाई २०६२ सालमा भने पुनःइराक जाने इच्छाले दलालका माध्यमबाट पुनःदुबई पुगेका थिए । तर दलालले इराक लान नसकेपछि उनी त्यही दुबईमा पाँच वर्ष बेलाली कम्पनीको पावर प्लान्टमा काम गरे।

त्यस समयमा अत्यधिक गर्मीमा आफूले काम गरेको अनुभव सुनाउँदै उनले त्यही काम गर्ने मानिसले साउदी लैजान्छ भनेर अन्तवार्ता दिँदा अन्तवार्तामा उत्तीर्ण भएको बताए । “अन्तवार्तामा पास त भइयो, भिसा र टिकट कम्पनीले दिने कुरा भयो”, उनले भने, “उता जाने भएपछि दुबईको खाइरहेको जागिर छाडेर २०६७ सालमा म मेडिकल गर्न नेपाल आएँ, तर मेडिकलका क्रममा समस्या देखिएसँगै मेरो त्यहाँ जाने सपना पनि चकनाचुर भयो ।”

जागिर पनि गएको अवस्था अर्को जागिरमा जान मेडिकलमा समस्या भएपछि त्यस समयमा आफू निकै बेचैन जस्तो बनेको उनले अनुुभव सुनाए । विदेश जानमा लागेको त्यो ठक्कर नै अन्तत आफ्ना लागि व्यावसायिक सफलताको राम्रो माध्यम जस्तै बनेको उनले बताए । खनालले त्यसपछि कुखुरापालन गर्न थाले। कुखुरापालनमा पनि उनलाई सोचे जस्तो भएन । पुनः रु २५ लाख ऋण लाग्यो । ऋण लागेर आफूसँग पैसा नहुँदा त्यस क्रममा आफन्तले गरेको व्यवहार, ऋण नपत्याइएको अवस्था आदि अहिले पनि झल्झली सम्झना आउने उनको भनाइ छ ।

त्यसपछि उनले पुनःगाईपालन सुरु गरे। गाई पालेर बजारमा दूध बिक्री गर्न थाल्दासमेत दूध बिक्री नभएको भन्दै दिउँसो १२ बजे फिर्ता आउने धेरै समस्यामा पनि त्यस क्रममा भोग्नुपरेको उनको भनाइ छ । बजारमा पठाएको दूध फर्कने थालेसँगै उक्त दूधलाई दही बनाएर सिठ्ठी फुक्दै कुनै लाज नमानी बजारमा बिक्री गरेको बताउँदै उनले त्यस क्रममा डेरी खोलेर पनि रु पाँच लाखसम्म घाटा व्यहोर्नुपरेको दुःखेसो सुनाए ।

त्यसपछि दूधबाट मिठाइ, कुराउनी, छुर्पी आदि बनाएर बिक्री गर्दै आफ्नो आय बढाउँदै गएकामा त्यसै जगमा बेकरी, क्याटरिङ, टेन्टहाउस हुँदै होटेलसम्मको व्यवसायमा सफलता हासिल भएको उनले बताए। व्यवसायमा परिवारको साथ र सहयोग पनि आवश्यक हुने बताउँदै खनालले सुरुमा पाँच वर्षसम्म बेकरी, क्याटरिङ, टेन्ट हाउस सञ्चालन गर्दा कुनै कर्मचारी नराखी घरपरिवारकै सदस्य मिलेर व्यवसाय धानेको जानकारी दिए। “अहिले भने मेरा यी सबै व्यवसायमा घर परिवारका सदस्यबाहेक अन्य २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्”, उनले भने, “मेरा व्यवसायमा चाहिने दूध, माछामासु आदिका लागि झण्डै ५० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् ।”

निरन्तरको सङ्घर्ष र इमानदार प्रयास भएमा रोजगारीका लागि विदेश नै जानुपर्ने अवस्था नरहेको बताउँदै उनले यही बसेर धेरै गर्न सकिन्छ भन्ने आफू स्वयं उदाहरण भएको सुनाए। हामीले गर्ने सबै कुरामा सफलता नमिले पनि निरन्तर लागिरहेमा अन्ततः सफलता हासिल हुने उल्लेख गर्दै उनले भने, “दुःख र सङ्घर्ष हरेक मानिसको जीवनमा हुन्छ, आत्तिनु हुँदैन आफूमा रहेकोे आँटलाई विश्वास र मेहनत गर्नुपर्छ, सफल पक्कै भइन्छ ।”

Kendrabindu logo Kendrabindu

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

इन्द्र कमल रोक्का 12 hours ago

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ९० रुपैयाँ, आलु रातो प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ, आलु सेतो प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ७० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३५ रुपैया, बन्दा (नरिवल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५० रुपैयाँ, काउली तराई प्रतिकिलो ४० रुपैयाँ, रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १५० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १३० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ८० रुपैयाँ, तितो करेला प्रतिकिलो ११० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ५० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, समितिले रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

बकूला प्रतिकिलो ११० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १८० रुपैयाँ, जिरीको साग प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ८० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ, अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

Explore by Source or Category