npl.977 Nepal News Stream

#प्रदेश-६

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

मुगु कांग्रेस उम्मेदवार शाहीद्वारा प्रतिज्ञा–पत्र सार्बजनिक

बिमल हमाल 13 hours ago

मुगु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा मुगु जिल्ला मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । राजनीतिक दलहरूले आ–आफ्ना चुनावी एजेन्डा सार्वजनिक गर्ने क्रम तीव्र भइरहँदा नेपाली कांग्रेस मुगुका प्रतिनिधिसभा उम्मेदवार खड्गबहादुर शाहीले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो प्रतिज्ञा–पत्र सार्वजनिक गरेका हुन् ।

“वाचा होइन काम, नारा होइन परिणाम, ऐतिहासिक आत्मआलोचना हिजोको पाठ, दुर्गमताबाट अवसरको जिल्ला बनाउने अठोट” भन्ने मूलमन्त्रसहित चुनाव बिशेष विस्तृत प्रतिज्ञा–पत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको प्रतिज्ञा–पत्रमा मुगुको समग्र विकासलाई केन्द्रमा राखेर कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, ऊर्जा र रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । शाहीले मुगुको दुर्गम भेगको आवाज सडकदेखि संघीय संसदसम्म सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउँदै विगतका कमजोरीबाट पाठ सिकेर परिणाममुखी काम गर्ने अठोट व्यक्त गरेका छन् ।

प्रतिज्ञा–पत्रअनुसार हाल १५ शैयामा सञ्चालन भइरहेको जिल्ला अस्पताल मुगु लाई ५० शैयाको सुविधा सम्पन्न अस्पतालका रूपमा स्तरोन्नति गर्न पहल गरिने देखि विशेषज्ञ चिकित्सक सेवा विस्तार, आवश्यक उपकरण व्यवस्थापन तथा मातृ–शिशु स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

प्रत्येक विद्यालयमा “एक विद्यालय–एक नर्स” कार्यक्रम लागू गरी विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गरिने र दुर्गम बस्तीमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने योजना छ । जटिल रोग र आकस्मिक दुर्घटनामा परेका बिरामीका लागि ५० लाख रुपैयाँसम्मको निःशुल्क उद्धार तथा उपचार कोष स्थापना गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

पूर्वाधारतर्फ गमगढी–नाक्चेलाग्ना सडक पाँच वर्षभित्र सम्पन्न गरी उत्तरी नाकासँग व्यापारिक पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ । सडक निर्माणमा अत्यधिक प्रयोग हुने डोजर संस्कृतिको सट्टा श्रमप्रधान पद्धति अपनाई उपभोक्ता समितिमार्फत काम गरिने र यसबाट स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी प्रदान गरिने दाबी गरिएको छ । दुर्गम बस्तीहरूलाई सडक सञ्जालसँग जोड्ने, पुल तथा झोलुंगे पुल निर्माणलाई तीव्रता दिने योजना पनि समेटिएको छ ।

“एक घर–एक धारा” कार्यक्रममार्फत सुरक्षित खानेपानीको पहुँच विस्तार गरिने, खेतियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याई कृषि उत्पादन वृद्धि गरिने तथा दुर्गम क्षेत्रमा टेलिकम र इन्टरनेट सेवा विस्तार गरिने उल्लेख छ । ऊर्जा क्षेत्रमा साना जलविद्युत् तथा वैकल्पिक ऊर्जाको प्रवद्र्धन गरी उज्यालो मुगु अभियान सञ्चालन गरिने योजना पनि प्रतिज्ञा–पत्रमा राखिएको छ ।

विश्वप्रसिद्ध रारा ताल केन्द्रित पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइएको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सदरमुकाम गमगढीमा कम्तीमा एक रात बस्न प्रोत्साहन गर्ने अभियान सञ्चालन गरिने र स्थानीय होटल, होमस्टे तथा हस्तकलालाई प्रोत्साहन गरिने बताइएको छ । ऐतिहासिक मठ, मन्दिर तथा पुरातात्विक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक कानुनी तथा बजेटीय पहल गरिने प्रतिबद्धता पनि जनाइएको छ ।

कृषि तथा जडीबुटी क्षेत्रलाई मुगुको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । यार्सागुम्बा लगायत बहुमूल्य जडीबुटीको प्रशोधन, भण्डारण र बजारीकरणका लागि संरचना निर्माण गरिने तथा किसानलाई आधुनिक प्रविधि र तालिम उपलब्ध गराइने उल्लेख गरिएको छ। उत्पादनलाई बजारसँग जोड्दै आयआर्जन वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

शिक्षातर्फ हरेक सामुदायिक विद्यालयलाई क्रमशः आवासीय विद्यालयका रूपमा विकास गर्ने, भौतिक संरचना सुधार गर्ने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने योजना सार्वजनिक गरिएको छ। नर्स, एचए, सब–इन्जिनियर, फरेस्ट्री लगायत प्राविधिक विषयमा अध्ययन हुने कलेज स्थापना गर्न पहल गरिने र युवालाई स्थानीय स्तरमै सीप तथा रोजगारीका अवसर प्रदान गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । सरकारी सेवा सहजीकरणका लागि “हेलो मुगु डेस्क” स्थापना गरिने पनि जनाइएको छ ।

युवालाई विदेश पलायन हुन नदिन कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारसँग सम्बन्धित आयोजनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरिने दाबी गरिएको छ । महिला, दलित, जनजाति तथा पछाडि परेका समुदायको सशक्तिकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिने उल्लेख सबै प्रतिज्ञा पत्रमा रहेका उम्मेदवार खड्ग बहादुर शाहीले बताए । उहाँका अनुसार धेरै वाचा भन्दा निर्वाचित भईसकेपछी पाँच बर्ष भित्र गरीन सक्ने मात्रै प्रतिज्ञा पत्रमा उल्लेख गरेका शाहीको भनाई छ ।

निर्वाचन नजिकिँदै जाँदा मुगुमा विकासका एजेन्डा केन्द्रमा आउन थालेका छन् । उम्मेदवारहरूले सार्वजनिक गरेका योजना र प्रतिबद्धतामाथि मतदाताबीच व्यापक छलफल सुरु भएको छ। अब यी वाचा व्यवहारमा कसरी रुपान्तरण हुन्छन् भन्ने विषयमा सर्वसाधारणको चासो बढ्दो छ ।

The post मुगु कांग्रेस उम्मेदवार शाहीद्वारा प्रतिज्ञा–पत्र सार्बजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category