npl.977 Nepal News Stream

#प्रदेश-२

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सरकारको नेतृत्व लुते भएकाले केपी ओलीले खुलेआम धम्काउन थाले : प्रभु साह

राजधानी समाचारदाता 4 hours ago

सिराहा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारको नेतृत्व नै लुते भएको कारण नै चौतर्फी आक्रमणको शिकार भएको टिप्पणी गरेका छन् । जेन–जी जनविद्रोहको जगमा बनेको सरकारले आफ्नो मूल दायित्व नै बिर्सिएको कारण अहिले परिवर्तन नचाहने तत्वहरुको प्रहार सहनुपरेको साहको दाबी छ । सरकार बनेको एक सय दिन बित्न नपाउँदै विकल्प खोज्ने कुरा उठ्नु वर्तमान सरकारको असफलतासँग जोडिएको साहको भनाई छ ।

उनले भने,‘यो सरकार ठीक दिशामा हिँडेको भए र आफ्नो मूल दायित्व पूरा गर्नतर्फ गम्भीर बनेको भए आज एक सय दिन नपुग्दै विकल्प खोज्ने कुरा उठ्थ्यो त ? यो गम्भीर प्रश्नको विषय हो ।’

आज (आइतबार) सिराहको धनगढिमाई बजारमा आयोजित सिराहा क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारमा बसेकाहरुले तोकिएको मितिमा चुनाव गराउने दायित्व भुल्न थालेको र रंगबिरंगी खेलोफड्कोमा अल्झिएको आरोप लगाए । उनले निर्दलीय सरकारमा बसेर कुलमान घिसिङ्ले आफ्नो स्वार्थको रोटी सेकिरहेको र सत्ताको दुरूपयोग गरेर आफ्नो पार्टीको प्रचारमात्रै गरेको भन्दै मन्त्रीको जिम्मेवारीबाट घिसिङ्लाई तत्काल बर्खास्त गर्नपनि प्रधानमन्त्रीसमक्ष माग गरे ।

उनले भने,‘कुलमानकै महत्वकांक्षाको कारण यो सरकारलाई जेनजी आन्दोलनमा दमन गरेका हत्याहरुले पनि हेप्न थाले, अहिले त खुलेआम चुनाव हुन दिन्नौं भनेर धम्की दिन थालेका छन्, यो अवस्था कसरी सिर्जना भयो ? प्रधानमन्त्रीले गम्भीर कदम चाल्नुपर्छ । निर्दलीय सरकारमा बसेर दल खोल्ने र रातारात हिरो हुन्छु भनेर लोभ पालेर बसेका कुलमानहरुको कारण सरकार बदनाम भइरहेको छ, यसतर्फ प्रधानमन्त्रीले कदम चाल्नुपर्छ । दल खोल्ने र राजनीतिको रोटी सेक्ने ईच्छा देखाएका कुलमानलाई बिदा गर्नुपर्छ । देशको विकास निर्माणसँग प्रत्यक्ष जोडिएका तीन तीन वटा महत्वपूर्ण मन्त्रालयको चाबी कसको दबावमा सुम्पिनुभयो ? उहाँ जेनजीको भावनाअनुसार चल्नुभएको छ त ? कि कसैको इशारामा नाच्दै हुनुहुन्छ ?’ मन्त्री घिसिङले कतिपय आयोजनाको निरीक्षण गर्ने क्रममा धम्कीको भाषा बोल्ने गरेको र समयमा आयोजना नसके यो धर्तीमा नै रहन नदिने भनेर बोलेकोमा पनि साहले आपत्ति जनाए ।

उनले वर्तमान सरकारले एक सय दिन पुगेको अवसरमा कामको फेहरिस्त सुनाउन थालेकोमा पनि आपत्ति जनाए । उनले सय दिनमा सयथरि कुरा गरेर समय व्यतित नगर्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिए । साहले चुनाव गराउने दायित्व पूरा नगर्ने हो भने बेलैमा मार्गप्रशस्त गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने,‘तपाई दिन बिताउने मेसोमा मात्रै लागेको हो भने यो हामीलाई मान्य छैन, न त अहिलेसम्म जेनजी आन्दोलनका शहादत दिएकाहरुलाई न्याय दिन सक्नुभयो, उनीहरुको हत्याहरु अहिलेपनि देश र दुनियाँ अनि जनता धम्क्याउँदै हिँडेका छन्, तर तपाईंहरु कानमा तेल हालेर र हात बाँधेर बस्नुभएको छ, यसरी जेनजी आन्दोलनका शहिदहरुलाई न्याय हुन्छ ? अर्को, चुनाव गराउने दायित्वपनि पूरा गरेको देखिँदैन, अहिलेसम्म लुटिएका हतियार फिर्ता ल्याउन सक्नुभएको छैन, गम्भीर अपराधका कैदीबन्दीहरु फरारकै अवस्थामा छन्, फिर्ता ल्याउन सक्नुभएको छैन, नसक्ने हो भने देशको समय बर्वाद नगर्नुहोस र संकटको घडीमा सक्षम व्यक्ति ल्याएर भएपनि चुनाव गराउँछौं ।’ उनले सुशीला कार्कीहरुले जेनजी आन्दोलनको मर्म र भावनामाथि बारम्बार प्रहार गरेको भन्दै आलोचना गरे । जेनजीहरुले ओली–आरजुलाई सरकारबाट हटाएर सुशीला–कुलमानलाई विराजमान गर्नको लागि मात्रै आन्दोलन नगरेको साहको भनाई छ ।

भदौ २३ गते जेन–जी युवाहरुको टाउको र छातीमा ताकि ताकि गोली हानेर हत्या गरेकाहरुले आज उल्टै सरकारलाई धम्काउने काम गरेको भन्दै साहले सरकारमा भएकाहरुको कार्यक्षमतामाथि प्रश्न उठाए । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरुदेखि नै आफ्नो जिम्मेवारी सही तवरले बहन गर्न नसकेको उनको आरोप छ । त्यही भएर अहिले गृहमन्त्री ‘दुलोभित्र लुकेर बसेको मुसा’ को हालतमा रहेको उनको टिप्पणी छ । उनले भने,‘दिनदाहाडै युवाहरुको हत्या गरिएको छ, तर यो सरकारले अहिलेसम्म दोषीहरुलाई कारबाही गर्न सकेको छैन, हत्याहरुलाई बयान लिन सकेको छैन । ती हत्याहरुको धम्कीसँग डराएर बसेको छ, अनि कसरी ती जेनजी शहिदहरुको सम्मान हुन्छ ? उनीहरुको परिवारको लागि न्याय दिलाउनुहुन्छ ?’

तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बयान लिए देश ठप्प पार्ने भने दिएको चेतावनीप्रति पनि साहले गम्भीर असन्तोष व्यक्त गरे । उनले भने,‘यो देश एमालेको निजी हो र ? लोकतान्त्रिक भन्ने दलको नेताले यसरी दिनदाहाडै राज्य–संयन्त्र र जनतालाई धम्की दिने ? उहाँहरुले यो देशलाई कता लैजान खोज्दै हुनुहुन्छ ? खबरदार, नेपाली जनतालाई धम्की दिने कोशिस नगर, अब जनता जागेको अवस्था छ । तिमीहरुको धाक, धम्कीसँग जनता डराउनेवाला छैनन् ।’ जाँचबुझ आयोगका पदाधिकारीले तीन महिनाको समय त्यत्तिकै व्यतित गरेको र फेरि एक महिनाको समय थपिएकोमा पनि साहले असन्तुष्टि पोखे । शक्तिशाली आयोगले आन्दोलनमा दमन गर्नेहरुलाई अहिलेसम्म बयानमा बोलाएर कारबाहीको लागि सिफारिश गर्नुपर्नेमा डराएर बसेको र म्याद गुजारेको साहको आक्रोश छ ।

The post सरकारको नेतृत्व लुते भएकाले केपी ओलीले खुलेआम धम्काउन थाले : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

एचआईभी नियन्त्रणमा सञ्चारकर्मीको भूमिका खोजिँदै

तुलसी भण्डारी 16 hours ago

वीरगन्ज । एचआईभी–एड्स अझै पनि नेपालका लागि सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा रहँदै पाइएको छ । संक्रमण नियन्त्रण, उपचारमा पहुँच विस्तार र समाजमा व्याप्त कलंक तथा विभेद न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका खोजिनुले अझै यसको समस्या रहेको पाइएको हो ।

समावेशी, समतामूलक तथा पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित एड्स हेल्थ फाउन्डेसन (एएचएफ) नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहकार्यमा शनिबार वीरगन्जका पत्रकारहरुसँग एचआईभीको वर्तमान अवस्था, सरकारी नीति, उपचारको उपलब्धता र भावी रणनीति’bout अन्तरक्रिया पनि गरिएको छ । कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले सन् २०३० सम्म नेपालमा एचआईभीलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा अन्त्य गर्ने सरकारी लक्ष्य रहेको जनाए । तथापि दातृ निकायहरूको अनुदान कटौती र राज्यको लगानी घट्दै जानुले लक्ष्य हासिलमा भने चुनौती थपिएको उनको तर्क थियो । यद्यपि, समावेशी र समानतामूलक स्वास्थ्य सेवामार्फत एचआईभी उपचारलाई निरन्तरता दिने सरकारको प्रतिबद्धता भने कायमै रहेको उनले बताए ।

नयाँ संक्रमण रोकथाम, संक्रमितको स्वास्थ्य सुधार र उच्च जोखिम समूहमा देखिएको असमानता घटाउने राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ ले लक्ष्य लिएको छ । योजना विश्वव्यापी ९५–९५–९५ लक्ष्यअनुरूप तयार गरिएको पाइएको हो । लक्ष्य पूरा गर्न अधिकांश संक्रमितको पहिचान, उपचारमा समावेशीकरण र भाइरल लोड संप्रेसन सुनिश्चित गर्ने पनि राष्ट्रिय लक्ष्य छ ।

राष्ट्रिय एचआईभी अनुमान २०२५ अनुसार नेपालमा हाल ३६ हजारभन्दा बढी मानिस एचआईभीसँग बाँचिरहेका छन् । वार्षिक रूपमा झन्डै ७ सय नयाँ संक्रमण देखिनु र ५ सयभन्दा बढीको मृत्यु हुनु चुनौतीपूर्ण अवस्था भएको विज्ञहरूको विश्लेषण छ । विशेषगरी मधेश प्रदेशमा बागमतीपछि संक्रमितको संख्या बढी देखिनुले स्थानीयस्तरमै जनचेतना र पहुँच विस्तारको आवश्यकता खड्किएकोले कार्यक्रम पर्सामा पनि गरिएको आयोजक संस्थाले जनाएको छ ।

आर्थिक वर्ष २०८१–८२ मा देशभर २७ हजारभन्दा बढी संक्रमित एआरटी उपचार प्रयोगमा छन्। प्रदेशगत तथ्यांकले उपचार सेवामा पहुँच विस्तार भए पनि अझै केही समुदाय र भूगोलमा सेवाको प्रभावकारिता बढाउनु पर्ने टड्कारो अवस्थालाई नकार्न नसकिने राष्ट्रिय एड्स तथा यौन रोग विारण केन्द्र (एनसिएएससी) का नेर्देशक समेत रहेका डा शर्माले बताए ।

एड्स हेल्थ फाउन्डेसन नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआईभीलाई स्वास्थ्य मात्र नभई विकासको अवरोधका रूपमा बुझ्नुपर्ने तर्क पनि गरे । “यो साझा समस्या हो, सबैको सहकार्यबिना नियन्त्रण सम्भव छैन,” उनले भने ।

सञ्चारकर्मीसँगको सहकार्यले एचआईभी–एड्सविरुद्धको लडाइँमा सही सूचना प्रवाह, भ्रम चिर्ने र संक्रमित प्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनेमा केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेको पनि भनाइ छ । वीरगन्जका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो ।

The post एचआईभी नियन्त्रणमा सञ्चारकर्मीको भूमिका खोजिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

डाबरको अखाद्य महः अनुगमन टोलीलाई दिएन ‘स्वाम्पल’

तुलसी भण्डारी 16 hours ago

वीरगन्ज । बारामा रहेको युनिलिभर कम्पनी डाबलर नेपालले महमा किरा भेटिएको व्याचको नमूना नियमनकारी निकायलाई नदिएको तथ्य फेला परेको छ । गएको मंसिर २९ गते डाबरको महमा किरा भेटिएको प्रमाण सहित नियमनकारी निकायमा उजुरी परेपछि अनुगमनमा गएको टोलीलाई किरा र कमिला परेको भेटिएको व्याचको कुनै पनि नमूना नदिई डाबर नेपालले प्रमाण लुकाएको पाइएको हो ।

पुरानो व्याच डिष्प्याच गरिसकिएको भन्दै आधाघण्टा टोलीलाई गेटमा पर्खाएर भित्र पुरै सफाई गरी बल्ल भित्र प्रवेश गराएको तथ्य उजागर भएको छ । डाबर कम्पनीले अनुगमनमा पुगेको नियमनकारी निकायलाई खान योग्य नभएको महको नमूना माग्दा त्यो व्याच बजार गई सकेको भनी हचुवा जवाफ दिएको खुलेको छ ।

टोली आफै विवादमा
अनुगमनमा जाँँदा उपभोक्ता हितमा काम गर्ने संस्था र संचार क्षेत्रका पनि अधिकारकर्मी टोलीमा सामेल गराउने विगतलाई समेत डाबर नेपाल जाँदा छुटाएको पाइएको छ । उपभोक्ताको हितमा काम गर्ने सरोकारवाला निकायलाई टोलीमा नसमेटी सुटुक्क डाबर पुगेको अनुगमन टोलीले उजुरी परेको व्याचको नमूना नै नपाएपछि बल्ल डाबरको महको गुलियोमा टोली पनि लुटपुटिएको रहस्योद्घाटन भएको छ । यो कुरा सञ्जालमा पनि फिंजिएको भेटिएको हो ।

बाणिज्य कार्यालय वीरगन्ज, पर्सा जिल्ला प्रशासन कार्यालय बारा मातहतको इलाका प्रशासन कार्यालय जितपुरसिमरा र जितपुरको प्रहरी कार्यालयका प्रतिनिधि मात्र सुटुक्क त्यहाँ पुगेको डाबर भित्रबाट खुलासा भएको छ । बाराको लिपनीमालमा रहेको अन्तराष्ट्रिय मल्टिनेशनल कम्पनी डाबरले अनुगमनमा गएको टोलीलाई आधा घण्टा गेट बाहिर नै कुराई भित्र लुकाउने र सफा गर्ने युनिट सफाई सकेर मात्र प्रवेश दिएको टोलीका सदस्यले समेत आशंका गरेका छन् ।

एनबी ००४२१ व्याच नम्बरमा किरा
डाबर नेपालले उत्पादन गरेको व्याच नं. एनबी ००४२१, उत्पादित मिति १२।२४ उल्लेख भएको २५० ग्रामको शिलप्याक महको बट्टामा कमिला र किरा फेला परेको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा यसको खोजपड्ताल गर्न गएको मंसिर २९ गते नै उजुरी समेत परेको छ । खाद्य सुरक्षाका दृष्टिकोणले यस्तो बस्तु महमा भेटिनु क्षम्य नहुने खाद्य सुरक्षा ऐनले प्रष्टै उल्लेख गरेको छ ।

तर जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ लिपनीमालमा रहेको डाबर नेपालले उत्पादन गरेको महमा अखाद्य बस्तु भेटिएपछि उपभोक्ता हित संरक्षण मञ्च नेपालले समेत गम्भिररुपमा चासो देखाएको मञ्चका केन्द्रिय सदस्य अजित भुजेलले बताए । तथ्य फेला पारी छानविनका लागि उजुरी दिए पनि राज्यका नियमनकारी निकायले त्यहाँ गएजस्तो गरी सुनपानी छर्केर फर्किएको उनको आरोप छ । बाणिज्य कार्यालय वीरगन्जले उपभोक्ता हितमा काम गर्ने र संचारका कुनै पनि अधिकारकर्मी नलिई त्यहाँ जानु उल्टो आश्चर्य भएको उनको तर्क छ । मन मिल्ने केही प्रहरी र प्रशासनको प्रतिनिधि मात्र लिएर त्यहाँ गई दोषीलाई उन्मुक्ति दिने काम भएको उपभोक्ता हित संरक्षण मञ्च नेपालको आरोप छ ।

कम्पनीको उत्पादनमा अनुगमन गरी कार्वाही होस् भनी उपभोक्ता हित संरक्षण मञ्चले माग गर्नु अन्यथा होइन । तर संचारकर्मी र उपभोक्ताको तर्फबाट पनि कसैलाई टोलीमा सामेल नगराई डाबरमा सिमित संस्थाका प्रतिनिधि सुटुक्क जानु अवैध साँठगाँठको गन्ध आएको मञ्चका केन्द्रिय सदस्य भूजेलले राजधानी दैनिकसँग बताए ।

बच्चालाई मह किन्न गएका स्थानीय दिनेश भन्ने व्यक्तिले महमा खराबी भेटिपछि बट्टा सहित मञ्चमा पुगी जानकारी गराएपछि सकृय हुँदा त्यस्तो आधा दर्जन महका डब्बामा कमिला र किरा फेला परेको छ । अनिमात्र सम्बन्धित पक्षमा उजुरी गरिएको उनले बताए ।

उद्योग नेपालमा, अधिकाँश श्रमिक भारतीय
नेपाली भूमिमा उद्योग स्थापना गरी डाबर नेपालले अधिकाँश भारतीय श्रमिक राखी खाद्यवस्तु उत्पादनमा नेपाली उपभोक्तालाई ठगी गर्दै आएको गुनासो योभन्दा पहिले पनि नआएको होइन । सामाजिक उत्तरदायित्व वहन गर्ने कुरामा समेत डाबर नेपाल पछिल्लो समय पन्छिने गरेको जनगुनासो बढेको समयमा डाबर नेपालले ठिक एकवर्ष अगाडी उत्पादन गरेको महमा समस्या रहेको खुलेको छ । कहिले तौलमा फरक पार्ने त कहिले अखाद्यबस्तु भेटिने मात्र नभई हज्मोलाको प्याकेटमा समेत केही प्याकेट खाली‐खाली प्याक गरी त्यसमा समेत उपभोक्तालाई डाबर नेपालले ठगी गर्ने गरेको प्रमाण सुरक्षित भेटिएको छ ।

फ्लेवर फलफूलको, डाबरको जुश केमिकलको
फलफूलबाट मात्र उत्पादन गरिएको भनिएको डाबरको जुश त सबै केमिकलबाट पो बन्दोरहेछ अनुगमनमा पुगेका बाणिज्य कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसियाले खुलासा गरे । विभिन्न ड्रममा राखिएको फ्लेबर (आँप, लिची, अम्बा) हालेर स्वाद मात्र दिने गरेको रहस्य बल्ल थाहा भएको अनुगमनमा गएका टोलीका अन्य सदस्यले पनि खुलासा गरे ।

उद्योगको अनुगमन र उत्पादनमा के कस्तो अवस्था छ ? भनी युनिलिभर कम्पनी डाबर नेपाल बारा युनिटमा अनुगमन टोली गएको बिहिबार पुगेको थियो । अखाद्य मह फेला परेपछि उपभोक्ता ऐन २०७५ बमोजिम कार्वाही हुनु पर्ने दवाव बढेको छ । डाबर नेपालले नमूना समेत उपलब्ध नगराउनु सामाजिक उत्तरदायित्व समेत पूरा नगरेको स्थानीय बुद्धिजिबीहरुको आरोप छ ।

‘पुरानो लट डिष्प्याच गरियो’ भनी नमूना समेत उपलब्ध नगराएपछि टोली अहिलेको ७÷८ नम्बरको वर्तमान नमूना बोकेर लुरुक्क फर्किएको पाइएको हो ।

कुनै अधिकारकर्मीहरुलाई पनि डाबर नेपालले कहिले पनि मैत्रीपूर्ण व्यवहार नगर्ने गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजय अधिकारीले पनि बताए । डाबरले राजश्व दिन्छ भनी माथि पनि मख्ख त छ । तर यसले उत्पादन गरी नेपालमा विक्रिवितरण गर्ने सामानमा कैफियत भेटिने गरेको उनको भनाइ छ ।

डाबर नेपाल बारास्थित उद्योगका प्रशासन प्रमुख आशुतोष यादवसँग धेरैपटक सम्पर्क गरिए पनि उनले कम्पनीको कमजोरी बाहिर निस्कने डरले केही जवाफ दिनै चाहेनन् ।

The post डाबरको अखाद्य महः अनुगमन टोलीलाई दिएन ‘स्वाम्पल’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

विष्णुपुर गाउँपालिकामा एकपछि अर्को वडा बालविवाहमुक्त घोषणा

राजधानी समाचारदाता 16 hours ago

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका एक पछि अर्को वडा बालविवाहमुक्त घोषणा भएको छ । पछिल्लो पटक शनिवार सो पालिकाको वडा नं. ५ बालविवाहमुक्त वडा घोषणा भएको हो । सातवटा वडा रहेको पालिकामा यो संगै बालविवाहमुक्त घोषणा हुने वडाको संख्या चार पुगेको छ ।

यस अघि मंसिर २७ गते वडा नं. १, पौष २ गते वडा नं. २ र पौष ४ गते वडा नं. ३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो ।

विष्णुपुर गाउँपालिका ५ स्थित जनता आधारभुत विद्यालय मझाउमा शनिवार आयोजित एक समारोह बीच वडा न. ५ लाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

वडा ५ का वडाअध्यक्ष जिवछ मण्डलको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव, बालविवाह मुक्त लेखिएको ब्यानर पढेर घोषणा सभाको उद्घाटन गरे ।

उद्घाटन पश्चात् उनले बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, समाजिक तथा आर्थिक समस्याका ’दयगतमा चर्चा गर्दैै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्नू पर्नेमा जोड दिए । वडालाई बालविवाह मुक्त बनाउन सफल भएकोमा वडावासीलाई बधाई दिदै उनले यसलाई कायम राख्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको उल्लेख गरे ।

सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जिल्लालाई नै बालविवाहमुक्त बनाउने योजना रहेको सुनाउदै बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारीक, समाजिक तथा आर्थिक समस्याका ’दयगतमा चलाइएको सचेतना अभियानलाई प्रभावकारी ढंगले अघि बढाइने जनाए ।

वडालाई बालविवाह मुक्त घोषणा गर्न विगत एक वर्षदेखी सेभ द सप्तरी, सेभ द चिल्ड्रनको सहयोग तथा वडा कार्यालयलले सबैको साथ लिई बालविवाह मुक्त अभियान संचालन निर्देशीका २०८० बमोजिम गरेको विभिन्न कार्यक्रम अभियान र प्रयास पश्चात १२ बुँंदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैका आधारमा यस्तो घोषणा गरिएको सेभ द सप्तरीका कार्यक्रम प्रबन्धक संजिव चौधरीले बताए ।

नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यसैकारण घोषणा सभाको मुख्य नारा “नै करु वियाह के बात, बियाह करु बीस के बाद” (केटा केटीको उमेर २० वर्ष नपुगे सम्म विहेको कुरा नसोचौ नगरौ) तय गरिएको सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले बताए ।

उनले सो वडामा वसोवास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधी, अगुवा, पुरोहित, मौलाना, मायनजन लगायतले पालिकामा बालविवाह हुन नदिने प्रतिबद्धता समेत जनाएको बताए ।

उनले वडा वडामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा संस्थाले थप लगानी गर्ने योजना बनाइएको समेत जानकारी दिए । अभिभावकले समेत सन्तानको उमेर नपुगी बालविवाह नगर्न–नगराउने कतै भए सहभागी नभई विरोध र अवरोध गर्ने प्रतिबद्धता जनाएपछि बालविवाह मुक्त वडा घोषणा गर्न सहज भएको सेभ द सप्तरीका अध्यक्ष देवको भनाई छ ।

The post विष्णुपुर गाउँपालिकामा एकपछि अर्को वडा बालविवाहमुक्त घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category