npl.977 Nepal News Stream

#ताजा अपडेट

Contents
KHASOKHAS logo KHASOKHAS

अमेरिकाद्वारा इरानलाई चेतावनी: “सम्झौता गर वा कडा कदमका लागि तयार होऊ”

भवानी प्रसाद पाण्डे 4 hours ago

अमेरिकाले इरानसँग सम्झौताको विकल्प नभएको दाबी गरेको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै इरान वार्ताको टेबुलमा आएर सम्झौता गर्नुपर्ने बताए।

रक्षा मन्त्रीले उनीहरू वार्तामा आउने र सहमति हुन सक्ने दाबी समेत गरे। वार्ताको टेवलबाट सहमतिमा इरान नआउने हो भने कडा आक्रमण सहनका लागि तयार हुन इरानलाई रक्षामन्त्री हेगसेथले चेतावनी दिए ।

अमेरिका इरानसँग कहिल्यै पनि परमाणु हतियार नहोस् भन्ने सुनिश्चित गर्ने पक्षमा कायम रहेको उनले बताए। हेगसेथले उपराष्ट्रपति र वार्ता टोलीको नेतृत्वमा सम्झौतामार्फत यो समस्या समाधान गर्न खोजिरहेको बताउँदै, आवश्यक परे कडा कदम चाल्न पनि अमेरिका तयार रहेको चेतावनी दिए।

इरानले भने पटक–पटक आफूले परमाणु हतियार बनाउन नखोजेको र आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ।

उता पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले अहिलेसम्म अमेरिका र इरानबीच हुने वार्ताको कुनै मिति तय नभएको बताएका छन्। उनले वार्ताको समय र मितिबारे अनुमान नगर्न सञ्चार माध्यमलाई आग्रह गरे। अन्द्राबीले मध्यस्थकर्ता तथा सहजकर्ताको रूपमा पाकिस्तानको भूमिका सप्ताहन्तमा सम्पन्न पहिलो चरणको वार्तापछि पनि कायम रहेको बताए।

उनले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल आसिम मुनिर प्रतिनिधिमण्डलसहित इरान भ्रमणमा रहेको र प्रधानमन्त्री शहबाज शरीफ पनि शान्ति प्रवर्द्धनका लागि क्षेत्रीय देशहरूको भ्रमणमा रहेको जानकारी दिए।

इरानसँगको युद्धबारे सार्वजनिक समर्थन देखाउन खोजिएको रक्षा मन्त्रीको भनाइलाई पछिल्लो एक सर्वेक्षणले भने अस्वीकार गरेको छ। सार्वजनिक मामिला अनुसन्धान केन्द्रको नयाँ सर्वेक्षण अनुसार करिब ५९ प्रतिशत अमेरिकीहरूले इरानमा गरिएको अमेरिकी सैन्य कारबाहीलाई “अति भएको” बताएका छन्। यस्तै, ४५ प्रतिशत अमेरिकीहरू आगामी केही महिनामा पेट्रोल (ग्यास) किन्न सक्ने क्षमताबारे “धेरै” चिन्तित रहेको पाइएको छ।

KHASOKHAS logo KHASOKHAS

अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि तयार, राष्ट्रसंघद्वारा प्रशंसा

भवानी प्रसाद पाण्डे 5 hours ago

अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश युद्धविरामका लागि तयार भएको बताएका छन्। स्थानीय समयअनुसार मध्यरातदेखि नै यो युद्धविराम लागू भएको छ।

यी दुई छिमेकी देशहरूले इजरायल र इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहबीच एक महिनाभन्दा बढी चलेको युद्धपछि मंगलबार वाशिङ्टनमा दशकौंपछि पहिलोपटक प्रत्यक्ष कूटनीतिक वार्ता गरेका थिए।

इरानसँगको युद्ध सुरु भएलगत्तै हिज्बुल्लाहले इजरायलमाथि आक्रमण सुरु गरेको थियो। युद्धविराम लागू हुन केही मिनेटअघि सम्म पनि उत्तरी इजरायलका केही क्षेत्रमा हवाई आक्रमणको साइरन बजिरहेको थियो। इजरायली सेनाले बिहीबार अबेरसम्म हिज्बुल्लाहका रकेट प्रक्षेपण स्थलहरूमा आक्रमण जारी राखेको जनाएको थियो।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामले इजरायल–हिज्बुल्लाह द्वन्द्वको दीर्घकालीन समाधानतर्फ वार्ताको मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन्। गुटेरेसले इजरायल र लेबनानबीच युद्धविराम गराउन सहयोग गरेकोमा अमेरिकाको प्रशंसा गरेका छन्।

महासचिवले इजरायल–लेबनान सीमाका दुवै पक्षका जनतामाथि भइरहेको हिंसा र दुःख अन्त्य गर्न गरिने सबै प्रयासहरूमा संयुक्त राष्ट्रसंघको समर्थन रहने प्रतिबद्धता पुनः जनाएका छन्।

इजरायली आक्रमणमा ज्यान गुमाउने लेबनानीहरूको संख्या बढेर २,१९६ पुगेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल र हिज्बुल्लाहबीच मार्च २ देखि सुरु भएको पछिल्लो युद्धमा मृत्यु हुनेमध्ये २६० महिला र १७२ बालबालिका रहेका छन्। साथै, ७,१८५ जना घाइते भएका छन्।

इजरायलको पछिल्लो सैन्य आक्रामकता हिज्बुल्लाहले आफ्नो प्रमुख सहयोगी इरानको समर्थनमा उत्तरी इजरायलतर्फ रकेट प्रहार गरेपछि सुरु भएको हो।

Explore by Source or Category