npl.977 Nepal News Stream

#ताजा अपडेट

Contents
KHASOKHAS logo KHASOKHAS

न्युयोर्क गभर्नरमा रिपब्लिकन उम्मेदवार ब्लेकम्यानलाई ट्रम्पको समर्थन

भवानी प्रसाद पाण्डे 15 hours ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क राज्यको गभर्नर पदका लागि नासाउ काउन्टीका रिपब्लिकन कार्यकारी ब्रुस ब्लेकम्यानलाई समर्थन गर्ने घोषणा गरेका छन्।

ट्रम्पकी लामो समयदेखिकी सहयोगी सांसद एलिस स्टेफानिकले गभर्नरको दौडबाट बाहिरिने निर्णय गरेको भोलिपल्टै यो घोषणा आएको हो। न्युयोर्क राज्यको गभर्नरका लागि आगामी शरद ऋतुमा निर्वाचन हुँदैछ।

ट्रम्पको यो समर्थनलाई राजनीतिक वृत्तमा अपेक्षित मानिएको छ। यसले लङ आइल्याण्डको उपनगरीय नासाउ काउन्टीका प्रमुख ब्लेकम्यानलाई रिपब्लिकन पार्टीको आन्तरिक प्राथमिक चुनावमा सहजता प्रदान गर्नेछ। साथै, यसले उनलाई डेमोक्र्याटिक पार्टीकी वर्तमान गभर्नर क्याथी होकुलसँगको प्रतिस्पर्धाका लागि बलियो आधार तयार गरिदिने सम्भावना देखिएको छ।

सांसद एलिस स्टेफानिकले शुक्रबार आफूले गभर्नरको दौड स्थगित गरेको र कंग्रेसमा पुनः उम्मेदवारी नदिने घोषणा गरेकी थिइन्। स्टेफानिक र ब्लेकम्यानबीचको आन्तरिक प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको थियो। तर, स्टेफानिकले “अनावश्यक र लामो रिपब्लिकन प्राथमिक चुनाव” टार्नका लागि आफू पछि हटेको स्पष्ट पारेकी छिन्।

स्मरण रहोस् ट्रम्पले स्टेफानिकलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतको रूपमा मनोनयन गरेका थिए। तर, प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको बहुमत कमजोर हुन सक्ने चिन्ताका कारण पछि उक्त मनोनयन फिर्ता लिइएको थियो।

नासाउ काउन्टीका प्रमुख ब्लेकम्यान आफ्ना केही विवादास्पद नीतिका कारण चर्चामा छन् । उनले ट्रान्सजेन्डर खेलाडीहरूलाई काउन्टीका खेलकुद सुविधाहरू प्रयोग गर्न प्रतिबन्ध लगाउने नीति ल्याएका छन्।

उनले एक स्वयंसेवी कानुन कार्यान्वयन इकाइ गठन गरेका छन्, जसलाई आलोचकहरूले ‘मिलिसिया’ (अर्धसैनिक समूह) को संज्ञा दिएका छन्। उनले ट्रम्पको आप्रवासन नीति अनुरूप संघीय अधिकारीहरूसँग सहकार्य गर्न काउन्टीका जासुसहरूलाई निर्देशन दिएका छन्।

वर्तमान गभर्नर क्याथी होकुलको चुनावी अभियानले ट्रम्पको समर्थनलाई न्युयोर्कका मतदाताहरूले नकारात्मक रूपमा लिने टिप्पणी गरेको छ।

KHASOKHAS logo KHASOKHAS

बोण्डाई बीच गोलीकाण्डपछि अस्ट्रेलियाद्वारा प्रहरी र गुप्तचर निकायको समीक्षा गर्ने घोषणा

भवानी प्रसाद पाण्डे 16 hours ago

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको विस्तृत समीक्षा (रिभ्यु) गर्ने घोषणा गरेका छन्। गत साता सिड्नीको बोण्डाई बीचमा भएको भीषण आक्रमणपछि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन यो कदम चालिएको हो।

गत आइतबार भएको उक्त आतङ्ककारी घटनाले देशको सुरक्षा वातावरण कति छिटो परिवर्तन भइरहेको छ भन्ने कुरालाई उजागर गरेको प्रधानमन्त्री अल्बानीजले बताए।

उनले ‘इस्लामिक स्टेट’ जस्ता समूहहरूबाट सिर्जित खतरालाई लक्षित गर्दै सुरक्षा निकायहरू यस्ता चुनौतीको सामना गर्न पूर्ण रूपमा सक्षम हुनुपर्नेमा जोड दिए।

डिसेम्बर १४ (आइतबार) सिड्नीको बोण्डाई बीचमा आयोजित यहूदी पर्वका क्रममा दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। उक्त आक्रमणमा १५ जनाको ज्यान गएको थियो। प्रहरीले यसलाई “आतङ्कवादी घटना” घोषणा गरेको छ।

प्रहरीका अनुसार उक्त आक्रमण ‘इस्लामिक स्टेट’ को विचारधाराबाट प्रेरित बाबु–छोराको जोडीले गराएका हुन्।

अभियुक्त २४ वर्षीय नविद अकराममाथि १५ वटा हत्या र एक आतङ्कवादी कार्यसहित कुल ५९ वटा अभियोग लगाइएको छ। उनका पिता साजिदको भने आक्रमणकै क्रममा मृत्यु भएको थियो।

प्रधानमन्त्री अल्बानीजका अनुसार यो गुप्तचर समीक्षा सन् २०२६ अप्रिलसम्म पूरा गरिनेछ। यसले विशेष गरी चरमपन्थसँग जुध्न राज्यका संयन्त्रहरू कति सक्षम छन् भन्ने कुरामा केन्द्रित रहनेछ।

झन्डै तीन दशकयताकै अस्ट्रेलियाको सबैभन्दा घातक सामूहिक गोलीकाण्डपछि सरकारले बन्दुक राख्ने सम्बन्धी कानुनलाई अझ कडा बनाइने,न्यु साउथ वेल्स राज्यले घृणासम्बन्धी अभिव्यक्तिविरुद्ध थप कडा कानुन ल्याउने तयारी गरिरहेको छ।

KHASOKHAS logo KHASOKHAS

अमेरिकाको क्यालिफोर्नियामा पेट्रोल अभावको सम्भावना, मूल्य बढ्ने अनुमान

भवानी प्रसाद पाण्डे 18 hours ago

अमेरिकाको क्यालिफोर्नियामा चाँडै पेट्रोलको अभाव हुन सक्ने सम्भावना देखिएको छ। देशकै सबैभन्दा महँगोमध्ये पर्ने यहाँको पेट्रोलको मूल्य, अभावका कारण अझै बढ्न सक्ने देखिन्छ।

राज्यका पेट्रोलियम पदार्थका रिफाइनरीहरू (तेल प्रशोधन केन्द्र) वर्षौँदेखि बन्द हुँदै आएका छन्। यसै क्रममा अब थप दुई रिफाइनरी बन्द हुने तयारीमा छन्।

लस एन्जलस क्षेत्रमा रहेको रिफाइनरी यसै महिनाको अन्त्यमा बन्द हुँदैछ भने ‘बे एरिया’को अर्को रिफाइनरी अप्रिलमा बन्द हुनेछ। यी दुई रिफाइनरीले क्यालिफोर्नियाको करिब १७ प्रतिशत पेट्रोल आपूर्ति गरिरहेका थिए।

क्यालिफोर्नियाका चालकहरूले पहिलेदेखि नै देशका अन्य भागको तुलनामा करिब ५० प्रतिशत बढी मूल्य तिर्दै आएका छन्। हाल यहाँ प्रति ग्यालन औसत मूल्य करिब ४.३२ डलर छ। ‘लिपो आयल एसोसिएट्स’का अध्यक्ष एन्डी लिपोका अनुसार रिफाइनरीहरू बन्द हुनाले मूल्य थप ५० सेन्टसम्म बढ्न सक्छ।

यदि क्यालिफोर्नियामा बाँकी रहेका छ वटा रिफाइनरीमध्ये कुनै एकमा आकस्मिक रूपमा उत्पादन बन्द भयो भने पेट्रोल अभावको जोखिम अझ बढ्न सक्छ। उदाहरणका लागि, फेब्रुअरीमा आगलागी भएको मार्टिनेजस्थित रिफाइनरी अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।

हवाईपछि क्यालिफोर्नियामा नै अमेरिकाको सबैभन्दा उच्च औसत पेट्रोल मूल्य छ। हवाईमा भने अधिकांश पेट्रोल जहाजमार्फत आयात गरिन्छ।

‘अमेरिकन पेट्रोलियम इन्स्टिच्युट’का अनुसार क्यालिफोर्नियामा देशकै सबैभन्दा उच्च—प्रति ग्यालन करिब ७१ सेन्ट पेट्रोल कर लाग्छ।

यो राष्ट्रिय औसतको दोब्बरभन्दा बढी हो। यसबाहेक राज्यमा ‘कार्बन कर’ पनि छ, जुन पेट्रोलका खुद्रा विक्रेता र वितरकले तिर्ने भए तापनि अन्ततः त्यसको भार उपभोक्तामाथि नै पर्छ।

अमेरिकाको राष्ट्रिय औसत पेट्रोल मूल्य घटेर प्रति ग्यालन २.७५ डलरमा झर्न सक्छ, तर क्यालिफोर्नियामा भने २०२५ को औसत ४.६४ डलरकै आसपास रहने वा अझै बढ्ने सम्भावना छ।

देशका अन्य भागमा २०२६ मा २०२५ को तुलनामा सस्तो पेट्रोल पाइन सक्ने सम्भावना भए पनि क्यालिफोर्नियामा भने मूल्य घट्ने सम्भावना न्यून छ।

लस एन्जलस रिफाइनरी सञ्चालन गर्ने ‘फिलिप्स ६६’ कम्पनीले क्यालिफोर्नियामा सञ्चालन लागत अत्यधिक भएकाले रिफाइनरी बन्द गर्ने निर्णय गरेको जनाएको छ। यद्यपि, क्यालिफोर्नियाका राज्य अधिकारीहरूले भने पेट्रोल अभाव नहुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।

क्यालिफोर्निया ऊर्जा आयोगका अनुसार रिफाइनिङ क्षमता घट्दै जाँदा राज्यले कच्चा तेलको आयात घटाएर प्रशोधित तेलको आयात बढाउनेछ। विश्वभरका रिफाइनरीहरूले अहिले क्यालिफोर्नियाका लागि आवश्यक ‘स्वच्छ इन्धन’ उत्पादन गरिरहेका छन्।

ऊर्जा आयोगकै तथ्याङ्क अनुसार हाल क्यालिफोर्नियाका सडकमा चल्ने गाडीमध्ये करिब ६ प्रतिशत मात्र पूर्ण विद्युतीय वा प्लग–इन हाइब्रिड छन्। त्यसैले अधिकांश चालकहरूले अझै दशकौँसम्म पेट्रोल नै प्रयोग गर्नुपर्ने देखिन्छ।

तर, क्यालिफोर्नियामा नयाँ विद्युतीय सवारीको बिक्री दर भने अमेरिकामै सबैभन्दा उच्च छ। सन् २०३५ सम्ममा नयाँ पेट्रोल चालित गाडीको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने राज्यको योजनाका कारण पनि धेरै रिफाइनरी सञ्चालकहरू वर्षौँदेखि राज्य छोड्दै आएका छन्।

KHASOKHAS logo KHASOKHAS

अमेरिकामा विवादास्पद यौनकाण्ड प्रकरण: सार्वजनिक दस्तावेजमा ट्रम्प र क्लिन्टनको नाम

भवानी प्रसाद पाण्डे 19 hours ago

अमेरिकामा विवादास्पद यौनकाण्डसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक भइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राष्ट्रपति बिल क्लिन्टनको नाम पनि जोडिएको छ।  

जेफ्री एप्स्टिनसँग सम्बन्धित सामग्रीहरू लगातार सार्वजनिक भए पनि धेरै मानिसहरू भने निराश भएका छन्। विशेष गरी यो फाइलको प्रतीक्षा गरिरहेकाहरूमा निराशा बढी देखिएको छ।

अमेरिकी कंग्रेसले पारित गरेको कानुनअनुसार न्याय मन्त्रालयलाई एप्स्टिनका अपराधसँग सम्बन्धित सामग्री सार्वजनिक गर्न निर्देशन दिइएको थियो।

तर, सार्वजनिक गरिएका धेरै दस्तावेजहरूमा ठूलो मात्रामा ‘कालो मसी’ लगाइएको छ, जसले गर्दा महत्वपूर्ण विवरणहरू पढ्न सकिँदैन। कतिपय कागजातहरू अझै गोप्य नै राखिएका छन्।

यी फाइल सार्वजनिक गर्न दबाब दिने सांसदहरूले यो प्रक्रिया अपूर्ण रहेको बताएका छन्। न्याय मन्त्रालयको प्रयासलाई “अपूर्ण र इमानदार नभएको” भन्दै आलोचना भइरहेको छ। कानुनी विज्ञहरूले अत्यधिक ‘कालो मसी’ लगाइँदा षड्यन्त्रका सिद्धान्तहरू ले अझ बल पाउने चेतावनी दिएका छन्।

उप–अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चका अनुसार मन्त्रालयले १,२०० भन्दा बढी पीडित वा उनीहरूका आफन्तको पहिचान गरेको छ।

हालै सार्वजनिक सामग्रीमा एप्स्टिनकी सहयोगी घिस्लेन म्याक्सवेल डाउनिङ स्ट्रिट बाहिर उभिएको तस्बिर समावेश छ। यस्तै, एप्स्टिनले एक १४ वर्षीया किशोरीलाई ‘मार-ए-लागो’ मा डोनाल्ड ट्रम्पसँग परिचय गराएको दाबी गरिएको कागजात र बिल क्लिन्टनका थुप्रै तस्बिरहरू पनि बाहिरिएका छन्।

ट्रम्पले एप्स्टिनसँग सम्बन्धित कुनै पनि गलत कार्यमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन्। एप्स्टिनका पीडितहरूले पनि ट्रम्पमाथि कुनै औपचारिक आरोप लगाएका छैनन्। त्यस्तै, बिल क्लिन्टनले पनि एप्स्टिनका यौन अपराधबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

कागजातमा नाम उल्लेख हुनु वा तस्बिरमा देखिनु आफैंमा अपराधको प्रमाण होइन। फाइलमा नाम आएका धेरै व्यक्तिहरूले कुनै पनि गलत कार्यमा संलग्नता अस्वीकार गरेका छन्।

न्याय मन्त्रालयले कंग्रेसको आदेश पालना गर्ने क्रममा केही सर्तहरू लागू गरिएको जनाएको छ। पीडितहरूको गोपनीयता, बाल यौन शोषण र शारीरिक हिंसासँग सम्बन्धित सामग्री, जारी अनुसन्धानलाई असर पार्ने तथ्यहरू, र राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य विषयहरूमा मात्र ‘कालो मसी’ प्रयोग गरिएको मन्त्रालयको दाबी छ।

Explore by Source or Category