npl.977 Nepal News Stream

#अर्थतन्त्र

Contents
Taksar News logo Taksar News

अस्पताल क्यान्टिन र पानी उद्योगमा अनुगमन, म्याद सकिएका पेय पदार्थ र जार नष्ट

टक्सार न्युज 13 hours ago

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाभित्रका अस्पताल क्यान्टिन तथा पानी उद्योगमा निरीक्षण अनुगमन गरी विभिन्न सुधारका निर्देशन दिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा केही व्यवसायमा कमजोरी भेटिएपछि कारबाहीसमेत गरिएको विभागले जनाएको छ।

विभागले गत फागुन ४ गते गोदावरी नगरपालिका–४, ललितपुरस्थित ‘डाँफे शुद्ध जल’ उद्योगमा उजुरीका आधारमा अनुगमन गरेको थियो। उद्योगमा रहेका जारमा फोहोर नभेटिए पनि पुराना, कुच्चिएका र थोत्रा ६ वटा जार प्रयोगमा रहेको पाइएपछि ती जार नष्ट गरिएको छ।

साथै प्रशोधित पिउँने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ अनुसार राख्नुपर्ने सीआईपी रेकर्ड, एसओपी लगायतका अभिलेख नराखिएको पाइएको विभागले जनाएको छ।

कामदारले व्यक्तिगत सरसफाइको मापदण्डसमेत पालना नगरेको भेटिएपछि आवश्यक सुधार गर्न निर्देशन दिइएको छ। प्रयोगशाला परीक्षणका लागि जारको पानीको नमुना समेत संकलन गरिएको विभागले जनाएको छ।

त्यसैगरी गत फागुन ५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको संयुक्त अनुगमनमा काठमाडौँ महानगरपालिका भित्रका अस्पताल क्यान्टिनहरूको निरीक्षण गरिएको थियो।

काठमाडौँ महानगरपालिका–३ स्थित कान्ति बाल अस्पताल मा सञ्चालित चितवन होटल एण्ड रेष्टुरेण्टमा फ्राइङ तेलको टीपीएम परीक्षण १२ प्रतिशत रहेको र मापदण्डअनुकूल देखिएको विभागले जनाएको छ।

भान्साको सरसफाइ सन्तोषजनक रहे पनि तयारी खाद्य पदार्थ नछोपी राखिएको पाइएकाले सुरक्षित तापक्रममा छोपेर राख्न निर्देशन दिइएको छ।

उक्त वडामै रहेको टिचिङ अस्पताल मा सञ्चालित एम.बी. चमेना गृहमा भने व्यक्तिगत सरसफाइ कमजोर, पेस्ट कन्ट्रोलको व्यवस्था नभएको तथा फ्रिजको सरसफाइ सन्तोषजनक नरहेको पाइएको छ।

काउण्टर नजिकको फ्रिजमा म्याद सकिएको फान्टा ९ बोतल भेटिएपछि करिब २ हजार ४३० रुपैयाँ बराबरको पेय पदार्थ नष्ट गरिएको विभागले जनाएको छ।

काठमाडौँ महानगरपालिका–११ स्थित वीर अस्पताल मा सञ्चालित गुजेश्वरी होटल प्रा.लि.मा भान्साको सरसफाइ तथा पेस्ट कन्ट्रोल व्यवस्था सन्तोषजनक नरहेको, तयारी खाद्य पदार्थ नछोपी राखिएको तथा तरकारी भुइँमै राखेर भण्डारण गरिएको पाइएको छ। सुधारका लागि कडा निर्देशन दिइएको विभागले जनाएको छ।

त्यसैगरी सोही वडामा रहेको ट्रमा सेन्टर मा सञ्चालित सुनील क्यान्टिनमा खुला डस्टबिन प्रयोग गरिएको, पेस्ट कन्ट्रोल व्यवस्था नभएको तथा म्याद सकिएको बिर्यानी मसला भेटिएको छ। उक्त मसला नष्ट गरी म्याद नाघेका खाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिइएको छ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले अस्पतालजस्ता संवेदनशील क्षेत्रमा सञ्चालित क्यान्टिनहरूमा खाद्य स्वच्छतामा विशेष ध्यान दिनुपर्ने बताउँदै सुधारका निर्देशन कडाइका साथ पालना नगरे कानुनी कारबाही गरिने चेतावनी दिएकी छन्।

RONB post logo RONB post

व्यापार घाटा ९ खर्ब ६६ अर्ब नाघ्यो

RONB Post 14 hours ago

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउनदेखि माघसम्म) मा ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ।

सोही अवधिमा नेपालबाट १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्यांक छ।

सात महिनाको अवधिमा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात ३२.१९ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा नेपालबाट १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३२.१९ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा नेपालबाट १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो।

निर्यातमा वृद्धि भएसँगै आयात पनि १३.६५ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विभिन्न मुलुकबाट ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो। जुन आर्थिक वर्ष २०८१/८२ को तुलनामा १३.६५ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा व्यापार घाटा १०.९१ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको साउनदेखि माघसम्म नेपालको व्यापार घाटा ९ खर्ब ६६ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ थियो।

The post व्यापार घाटा ९ खर्ब ६६ अर्ब नाघ्यो appeared first on RONB post.

Explore by Source or Category